शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औं वार्षिकउत्सव मनाउँदै


April 20, 2023

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले यही बैशाख ११ गर्ते आफ्नो ११ औं वार्षिकउत्सव मनाउन लागेको छ ।

नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको यस केन्द्रले स्थापनाको छोटो अवधिमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलव्धी हाँसील गरेको छ । अंगदान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको सबै भन्दा धेरै प्रत्यारोपण गर्ने मध्ये एकको स्थानमा रहन र ९९ प्रतिसत भन्दा वढी सफलताका साथ मृगौला प्रत्यारोपण गर्न सक्ने श्रय यसले बनाएको छ ।

हालसम्म यस केन्द्रले १०४६ जनाको मृगौला प्रत्यारोपण र १० जनाको कलेजो प्रत्यारोपण गरी सकेको छ । देशमा पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार, देश भरी डायलाइसिस विस्तार र प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य गरेको छ । गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगत पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्र्तगतको सुर्खेत प्रदेशीक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने प्रत्यारोपण सेवालाई क्रमश सेती अस्पताल, कैलाली, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगरमा प्रत्यारोपण सेवा विस्तार गर्ने समझ्दारी गरी प्रत्यारोपण कार्यको तयारी भैरहेको केन्द्रका कार्यकारी निर्देशक तथा मृगौला प्रत्यारोपणविद् डा.पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।

केन्द्रले करिव २०० जना स्टाफ नर्स तथा प्राविधिकलाई तालिम दिई डायलाइसिस सेवा देशभरी फिजाइ रहेको छ भने बिभिन्न सरकारी अस्पताल तथा निजी अस्पतालमा भएका मृगौला प्रत्यारोपण कार्य यही केन्द्रवाट तालिम प्राप्त जनशक्तीबाट भएको छ ।