शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औँ कलेजो प्रत्यारोपण सफल


June 1, 2023

भक्तपुर, १८ जेठ । शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ११ औं कलेजो प्रत्यारोपण गरिएको छ । गत आइतबार दाङका ४२ वर्षीय बाबुराम विश्वकर्माको कलेजो प्रत्यारोपण गरिएको हो । उनलाई आफ्नै श्रीमती ३७ बर्षीया आशा सुनारले कलेजो दान गरेकी हुन् ।

प्रत्यारोपण शल्यक्रियाको नेतृत्व कलेजो तथा मृर्गौला प्रत्यारोपण शल्य चिकित्सक तथा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले गरेका थिए । सो प्रत्यारोपणमा भारतको नयाँ दिल्लीस्थित म्याक्स हस्पिटलबाट आएका चिकित्सक टोलीले सघाएको थियो ।अस्पतालका निर्देशक डा श्रेष्ठले प्रत्यारोपित र अंगदाता दुबैको स्वास्थ्य अवस्था सामान्य रहेको बताए ।


सो प्रत्यारोपणमा सर्जन डा. रोशन घिमिरे, डा.सपना बर्मा, डा. ललित कुमार दास, कलेजो फिजिसियन डा. कर्ण राजवंशी, एनेस्थेसिया तथा क्रिटिकल केयरमा डा. आरती राई, डा. निभा श्रेष्ठ, डा. शोभित थापा, डा. रेखा श्रेष्ठ, डा. रश्मित श्रेष्ठ, डा. शिवसुन्दर जचल संलग्न थिए । त्यस्तै, रेडियोलोजी विभागको नेतृत्व डा. समिर दवाडी, डा विवेक नेपाल, डा जस्मिन जोशीले गरेका थिए भने पूजा कोइराला नेतृत्वमा बबिता लवजु, अनिता कार्कीलगायतको नर्सिङ टोलीले प्रत्यारोपणमा सघाएको थियो । त्यसैगरी प्रत्यारोपण कार्यको संयोजन कोर्डिनेरहरु डा स्वस्तिक प्रधानाङ्ग, तारा साँध, अर्चना बगाले, सरु कोजु र सनिषा कार्कीले गरेका थिए ।

मुलुकमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको यस केन्द्रले हालसम्म ११ जनाको प्रत्यारोपण गरिसकेको छ । प्रत्यारोपणमा हाल सम्म ८ जनामा जिवित दाताबाट र ३ जनामा मस्तिष्क मृत्युबाट प्राप्त कलेजो प्रत्यारोपण गरिएको छ । केन्द्रमा जम्मा रु १५ लाखमै कलेजो प्रत्यारोपण हुने गरेको छ ।


यसैबीच कलेजो ग्रहण कर्ता बाबुराम र कलेजो दाता आशा दुबै जनाले केन्द्रको सेवाबाट आफू अत्यन्त खुशी भएको बताए । आशाले आफू पूर्ण स्वस्थ्यलाभ गरे पछि सम्पूर्ण अंगहरु मृत्यु पश्चात दान दिन इच्छा व्यक्त गरेकी छिन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको यस केन्द्रले स्थापनाको छोटो अवधिमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलव्धी हासिल गरेको बताइएको छ । निर्देशक डा श्रेष्ठका अनुसार यस केन्द्रले अंगदान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको धेरै प्रत्यारोपण गर्ने मध्येको एक बन्दै ९९ प्रतिशत भन्दा वढी सफलताका साथ मिर्गौैला प्रत्यारोपण भई रहेको बताए । उनले यस केन्द्रमा १० वर्षको अवधिमा १०६६ जनाको मिर्गौला प्रत्यारोपण भएको सुनाए ।

त्यसो त यस केन्द्रले देशमै पहिलो पटक मस्तिष्क मृत्युवाट हुने मिगौला तथा कलेजो प्रत्यारोपण, अंगदान सम्बन्धी व्यापक प्रचार प्रशार तथा देश भरी डायलाइसिस विस्तार गर्न सघाउनका साथै सबै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी गरेको छ ।


निर्देशक श्रेष्ठ भन्छन्, ‘पछिल्लो समय गण्डकी प्रदेशको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल पोखरा र कर्णाली प्रदेश अन्र्तगतको सुर्खेत प्रादेशिक अस्पतालमा प्रत्यारोपण सेवा सुरु भै सकेको छ भने क्रमश सेती प्रादेशिक अस्पताल, धनगढी, बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको हेटौडा अस्पताल र कोशी प्रदेशको कोशी अस्पताल विराटनगर हुँदै देशको सातै प्रदेशमा प्रत्यारोपण कार्यको तयारी भै रहेको छ ।’

उनले केन्द्रको आफ्नो छुट्ट्ै भवन नहुँदा अंग फेल भएका धेरै विरामीहरुलाई प्रत्यारोपण सेवाको पहुँच दिन नसकिएको भन्दै सरकारले आ.व. २०८०/८१ को बजेट बक्तब्यमा केन्दको क्षमता विस्तार गर्नका साथै मृर्गौला प्रत्यारोपण सेवा सबै संघीय अस्पतालबाट व्यवस्था गर्ने घोषणा गरेको हुँदा केन्द्रले आगामी वर्ष आफ्नो सेवामा व्यापक बृद्धि गर्ने आशा जागेको बताए ।