अब मृगौला फेर्न भारत जानु नपर्ने


July 19, 2013

९ फागुन, काठमाडौं । चार वर्षअघिसम्म मृगौला फेर्नुपर्ने कुरा सुन्नेवित्तिकै बिरामीहरु बेहोस हुन्थे । पहिलो कुरा नेपालका अस्पतालमा मृगौला प्रत्यारोपण नै हुन्नथ्यो । दोस्रो, मृगौला फेर्न भारत जानुपर्दा घर खेत नै बेच्नुपर्ने अवस्था थियो ।

चिकित्सकहरुका अनुसार खानपान र जीवनशैलीको परिवर्तनले विश्वमा करोडौं मानिस मृगौला रोगबाट पीडित छन् । नेपालमा कति रोगी छन् भन्ने यकिन तथ्याँक नभए पनि २७ लाख मानिस मृगौला रोगबाट पीडित रहेको अनुमान छ । यसमध्ये १० प्रतिशत अर्थात २७ हजारभन्दा बढीको दुबै मृगौला पूर्णरुपले खराब भएको पाइएको छ । दुबै मृगौला खराब भएपछि अन्तिम उपाय भनेकै मृगौला प्रत्यारोपण हो । प्रत्यारोपण नगरेमा बिरामीले हप्तामा दुईदेखि तीन पटकसम्म डायलाइसिस गर्नुपर्छ ।

अहिले मृगौला प्रत्यारोपणका लागि भारत जानुपरे कम्तिमा १०/१२ लाख रुपैंया खर्च हुन्छ । तर, चार वर्षदेखि राजधानीको वीर र शिक्षण अस्पतालले भारतमा भन्दा आधा कम खर्चमा मृगौला प्रत्यारोपण गर्दै आएका छन् । अब यी दुई अस्पतालले भन्दा पनि निकै सस्तो अर्थात जम्मा तीन लाख ५० हजार रुपैंयामा नेपालमै मृगौला प्रत्यारोपण हुने भएको छ ।

सस्तो र सजिलो दुबै

मृगौला लगायतका अरु अंग प्रत्यारोपण गर्नुपर्ने बिरामीकै लागि भनेर भक्तपुरको दूधपाटीमा सरकारी स्तरमा मानव अंग प्रत्यारोपण केन्द्र स्थापना भएको छ । केन्द्रको औपचारिक उद्घाटन अघिल्लो हप्ता मात्रै भएको हो । केन्द्रका कार्यकारी निर्देशक डा. पुकार श्रेष्ठका अनुसार सर्वसाधारणलाई कम शुल्कमा सेवा प्रदान गर्ने उद्देश्यले काम भैरहेको छ । उहाँका अनुसार केन्द्रमा तीनलाख ५० हजार रुपैयामा मृगौला प्रत्यारोपण हुन्छ । जबकी वीर र शिक्षण अस्पतालमा मृगौला प्रत्यारोपण गर्न ५ लाख रुपैंया लाग्छ ।

तर, वीर र शिक्षण अस्पतालमा रकम तिर्नेवित्तिकै मृगौला प्रत्यारोपण गर्न सकिँदैन । त्यहाँ पालो पाउन महिनौं पर्खनुपर्छ । तर, भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रमा भने महिनौं कुर्नुपर्ने झञ्झटबाट बिरामी मुक्त हुनेछन् । ‘सम्पर्कमा पुगेका बिरामीको बढीमा दुई हप्ताभित्र प्रत्यारोपण हुन्छ’-कार्यकारी निर्देशक श्रेष्ठले अनलाइनखबरसँग भन्नुभयो ।

केन्द्र स्थापनाको अवसरमा पाँचजनालाई निःशुल्क सेवा दिने उद्देश्य पनि छ । यस केन्द्रमा सात विशेषज्ञ सहित १५ दक्ष चिकित्सक छन् । केन्द्रमा एकसय शैया छन् । यस्तै २० वटा हेमोडाइलासिस मेसिन, २ वटा मेजर अपरेशन थिएटर, ६ वटा आइसीयू र पोष्टअरेटिभ शैया लायत नेप|mोलोजी, युरोलोजी, मृगौला प्रत्यारोपण र कार्डियोलोजीको ओपिडी सेवा रहेको केन्द्रले जनाएको छ ।

अप्रेसन सजिलो, दाता पाउन गाह्रो

मृगौला रोगीले हातमा पैसा भए पनि जोसुकैको मृगौला प्रत्यारोपण गर्न पाउँदैनन् । अंग प्रत्यारोपणसम्बन्धी ऐनले बाबु, आमा, श्रीमान-श्रीमती, काकाकाकी, दाजु भाइ, धर्मपुत्र, धर्मपुत्री लगायतका नातेदार बाहेकका व्यक्तिहरुको मृगौला प्रत्यारोपण गर्नदिँदैन । मृगौला प्रत्यारोपण गर्दा दाता र पाउने व्यक्तिको रक्त समूह पनि मिल्नुपर्छ ।

आफन्त र नातेदारको रक्त समूह मिल्ने सम्भावना बढी भएकाले ऐनमा यस्तो व्यवस्था गरिएको बताइए पनि मृगौला रोगीहरुले भने ऐनको प्रावधानलाई खुकुलो बनाउन माग गर्दै आएका छन् । मृगौला प्रत्यारोपण आफन्तबाटमात्रै गराउनुपर्ने कानुनी प्रवाधान भए पनि गरिबीका कारण मृगौला बेच्ने नेपालीहरुको संख्या पनि कम छैन । सस्तोमा मृगौला प्रत्यारोपण गर्न सकिने व्यवस्था भए पनि कानुनी अड्चन नहटेसम्म मृगौला रोगीहरुले सहजरुपमा प्रत्यारोपण गर्न नसक्ने गुनासो पीडितहरुले गर्दै आएका छन् ।

 Source: OnlineKhabar http://www.onlinekhabar.com/2013/02/43931/#.USSrXDuDdoE.facebook