शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकाे दशौ वार्षिकोत्सव भब्यताका साथ सुसम्पन्न !!


HOTC, April 27, 2022

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको गौरवशाली दशौं वर्षिकोत्सव सम्पन्न ।

 

स्थापना भएको १० वर्ष भित्र धेरै उपलब्धी हाँसील गरेको यस केन्द्रले मिति २०७९।०१।११ गते राजधानीमा १०औ वार्षिक मनाएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङ हुनुहुन्थ्यो भने अध्यक्षताको आसन ग्रहण स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले गर्नुभएको थियो ।

त्यसैगरि संविधानसभा सदस्य राम नारायण विडारी, चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा.श्रीकृष्ण गिरी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा.गुणराज लोहनी, चिकित्सा महाशाखाका प्रमुख डा.कृष्ण पौडेल, यस अस्पतालका संचालक समितिका सदस्यहरु तथा अन्य अस्पतालका कार्यकारी प्रमुख र वरिष्ठ चिकित्सकहरुको उल्लेखनिय उपस्थिति भएको थियो ।


केन्द्रका कार्यकारी निर्देशक डा.पुकारचन्द्र श्रेष्ठले केन्द्रमा वार्षिक अधिकतम दुई सय जनाको मिर्गौला प्रत्यारोपण हुने गरेको तर ४०० जना मृर्गौला प्रत्यारोपणको लागि प्रतिक्षारत रहेको भन्दै उहाँहरु सबैको प्रत्यारोपण गर्न कम्तीमा २ वर्ष लाग्ने हुँदा ७ वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गराउन सरकारलाई सघाउन तयार रहेको बताउनु भयो । हालको मृर्गौला प्रत्यारोपण संख्याबाट देशको १ अरब रुपैया बचाउन सकिएको र समग्र देशमा वार्षिक तीनहजार जनाको प्रत्यारोपण गर्नु पर्ने अवस्था रहेको बताउनुभयो ।


प्रत्यारोपण र डाइलाइसिसको लागि प्रतिक्षा सूचीमा रहेका विरामी लाई तत्काल सेवा दिन स्थान अभाव भएको हुँदा डाइलाइसिस बेड संख्या १०० पुर्‍याउने योजना अगाडी बढाइएको र निकट भविष्यमा दैनिक ३०० जनाको डाइलाइसिस गर्ने योजना रहेको जनाकारी गराउनु भयो ।

उहाँले सिमित व्यक्तिले मात्रै अंगदान गर्ने भएका कारण मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंग प्राप्त गर्न सके अंग अभाबमा ज्यान जोखिममा परेका विरामीहरुको प्रत्यारोपण सहज हुने कुरा बताउनु भयो । अंग प्रत्यारोपण गर्ने उद्देश्यले १० वर्ष अगाडी सरकारको लगानीमा स्थापना भएको केन्द्रले नौ महिनामै मिर्गौला प्रत्यारोपण शुरु गरी ९ वर्षमा ८४० जनाको सफल मिर्गौला प्रत्यारोपण गरेको छ ।

वि.सं. २०७२ मंशिरमा नेपालमै पहिलो पटक कलेजो प्रत्यारोपण सुरु गरेको केन्द्रले हाल सम्म ८ जनाको कलेजो प्रत्यारोपण गर्नका साथै मुटुको शल्यक्रिया समेत गरिरहेको जानकारी गराउनु भयो । यस केन्द्रमा चिकित्सा विज्ञानमै जटिल मानिने मृर्गौला प्रत्यारोपण, कलेजो प्रत्यारोपण तथा मुटुको शल्यक्रिया एउटै तल्लामा सम्पन्न हुने गरेको र विश्वमा यस्तो विरलै हुने तथ्य पनि औंल्याउनु भयो ।

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरले स्थापनाको दशौं वार्षिक उत्सवको उपलक्ष्यमा स्मारिका बिमोचन समेत गरेको छ ।

  

१० औं वर्षिकोत्सवको अवसरमा वार्षिकोत्सवलाई सम्बोधन गर्दै प्रमुख अतिथि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री भवानी प्रसाद खापुङले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई प्रतिष्ठान बनाउने विषयमा मन्त्रालय सकारात्मक रहेको बताउनु भएको छ साथै प्रतिष्ठानको रुपमा् स्थापना भए प्रत्यारोपण क्षेत्रमा थप परिवर्तन ल्याउन सकिने कुरा उल्लेख गर्दै सात वटै प्रदेशमा अंग प्रत्यारोपण केन्द्र स्थापनाका लागि सरकार सकारात्मक रहेको तथा स्वास्थ्यलाई मौलिक हकमा व्यवस्था भएको हुँदा सरकार त्यसमा दत्तचित्त रहेको औंल्याउनु भयो ।मृत्युपछि अंगदान दिने विषय अति नै उपयोगी भएको हुँदा अंगदान गर्नेहरुको रेकर्ड राख्नुपर्ने बताउदै प्रत्यारोपणका लागि केन्द्रले खेलेको भूमिका उत्कृष्ट भएको भन्दैं प्रशंशा गर्नुभयो ।

 

अध्यक्षताको आसन ग्रहण गर्नु हुँदै स्वास्थ्य सचिव देवकुमारी गुरागाईँले सात वटै प्रदेशमा मानव अंग प्रत्यारोपण केन्द्र र हृदय रोग केन्द्रको विस्तारमा सरकार गम्भीर रहेको र यसका लागि बजेटको अभाव नहुने बताउनुभयो । उहाँले हाल केन्द्र रहेको स्थान साँघुरो भएकोले अर्को ठाउँमा विस्तार गर्नुपर्ने बताउनुभयो ।

  

केन्द्रलाई आवश्यक बजेट उपलब्ध गराउनका लागि अर्थ मन्त्री र अर्थ सचिव सँग कुरा भएको र यसमा उहाँहरु सकारात्मक रहेको कुरा बताउनु भयो ।