डा.पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले गर्‍यो एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण


July 18, 2022

डा.पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले गर्‍यो एकै दिन चार जनामा मिर्गौला प्रत्यारोपण, ९ सय जनाको नि:शुल्क मिर्गौला प्रत्यारोपण   


केन्द्रका निर्देशक एवं वरिष्ठ मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक डा.पुकारचन्द्र श्रेष्ठ नेतृत्वको टोलीले बिहीबार जीवित दाताबाट प्राप्त मिर्गौला चार जना बिरामीमा प्रत्यारोपण गरेको हो ।

अर्घाखाँचीकी २६ वर्षीया छोरीले ४८ वर्षीया आमाबाट, दोलखाका २७ सौतेनी छोराले ३८ वर्षीया आमाबाट, तनहुँका ३६ वर्षीया श्रीमान्ले ३५ वर्षीया श्रीमतीबाट र काभ्रेका ३५ वर्षीय छोराले ५२ वर्षीय बुबाबाट मिर्गौला प्राप्त गरेका हुन् ।

प्रत्यारोपित व्यक्ति तथा अंगदाता सबैको स्वास्थ्य अवस्था सामान्य रहेको केन्द्रले जनाएको छ । मुलुकमा लाइभ डोनरबाट एकै दिन ४ जनाको मिर्गौला प्रत्यारोपण गरिएको यो पहिलो घटना हो । यो सहित केन्द्रले  अहिलेसम्म ९ सय जनाको नि:शुल्क मिर्गौला प्रत्यारोपण गरेको  छ ।

हाल मुलुकमा करिब ६ सय जना मिर्गौला प्रत्यारोपणको प्रतीक्षामा छन् । सातामा ६ देखि ८ जनाका हिसाबले वार्षिक करिब २ सयभन्दा बढीमा मिर्गौला प्रत्यारोपण भइरहेको केन्द्रले जनाएको छ । केन्द्रले मात्र माग धान्न नसक्ने हुँदा सातै प्रदेशमा प्रत्यारोपण विस्तारको योजनाअनुसार असार ९ देखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सेवा सुरु भइसकेको छ ।

अब कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा विस्तार गर्ने तयारी भइरहेको डा. श्रेष्ठले बताए । उनका अनुसार मिर्गौला प्रत्यारोपण सेवा विस्तार गरिएको खण्डमा बिरामीले प्रत्यारोपणका लागि पालो कुर्नुपर्ने अवस्थाको अन्त्य हुन्छ ।



सरकारको वार्षिक नीति तथा कार्यक्रममा केन्द्रलाई विस्तार गर्ने र बजेट भाषणमा उच्चस्तरको जनशक्ति उत्पादन गर्ने शैक्षिक प्रतिष्ठानको रूपमा विकास गर्ने घोषणा गरिएको छ ।