‘हामीले खाने खाना नै औषधि हो’ भन्ने नाराका साथ आज अप्रिल १९ का दिन, ‘विश्व कलेजो दिवस’ मनाइदैं छ। सो अवसरमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कैलाशकूट सामाजिक अभियान, हाडिगाउँले संयुक्त रूपमा हाडिगाउँमा नि:शुल्क स्वास्थ्य तथा अंग दान शिविर आयोजना गरे। सोही कार्यक्रममा कलेजो तथा अन्य अंगहरु फेल हुनबाट बचाउने तरीका, अंगदान र प्रत्यारोपणसम्बन्धी अन्तरक्रिया कार्यक्रम पनि आयोजना गरिएको थियो।
नेपालमा कलेजो प्रत्यारोपण शल्यक्रिया सुरु गर्ने डा. पुकार चन्द्र श्रेष्ठले कलेजो फेल हुनुका कारणहरू र त्यसको रोकथामका बारेमा प्रवचन दिनुभएको थियो। उनले नेपालमा कलेजो प्रत्यारोपणको इतिहास र मृत्यु पछि विशेष गरी अंगदानको बारेमा जागरूकताको आवश्यकताको बारेमा पनि व्याख्या गरे। ब्रेन डेथ डोनर ट्रान्सप्लान्ट कार्यक्रमकी अध्यक्ष डा. कल्पना श्रेष्ठले देशमा अंग दानको अवस्थामाथि प्रकाश पर्नुभयो र सबैलाई अंग दान गर्न आग्रह गर्नुभएको थियो।
कैलाशकूट सामाजिक अभियानका अध्यक्ष महेश कुमार श्रेष्ठले कलेजो तथा किड्नी स्वास्थ्यको महत्त्वमाथि प्रकाश पारे र आफ्नो मृत्यु पछि अंग दान गर्ने घोषणा गरे। लगभग १०० स्थानीय बासिन्दाहरूको अल्ट्रासाउन्ड सहितको स्वास्थ्य जाँच गरिएको थियो, जसमध्ये ८ जनाले मृत्युपछि अंग दाताको फारम भरेका थिए।